वीरगंज । सशस्त्र प्रहरीले सालको गोलिया र भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हेडक्वार्टरका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले वीरगंज महानगर ३१ भेडिहारीबाट सुरक्षा बेस बेलवा र सबडिभिजन वन कार्यालय सबैयाको टोलीले दुई जना तस्करसहित २० क्युफिट सालको गोलिया र आरा बरामद गरेको बताए ।
उनले आराबाट गोलिया चिरान गर्ने क्रममा दुई जना पक्राउ परेको र उनीहरूलाई कारवाहीको लागि सबडिभिजन वन कार्यालय सबैयाको जिम्मा लगाएको बताएका छन् । यसैगरी, सशस्त्र प्रहरीको टोलीले वीरगंज महानगर ७ रेलवे रोडबाट भन्सार छलीको कुर्ता, सुरुवाल, जुत्ता, काजु गरि करिव साढे ८ लाख रुपैयाँको सामान बरामद गरेको बताएका छन् ।
उनले कुर्ता सुरुवाल ८५ थान, टप ७५० थान, जुत्ता ७६ जोर र काजु २३० किलो बरामद गरिएको बताए । यस्तै सशस्त्र प्रहरीको टोलीले वीरगंज १६ भन्सार गेट नजिकबाट भारतबाट नेपाल भित्र्याइएको एक लाख २२ हजार मूल्य बराबरको कपडा बरामद गरेको प्रवक्ता सिंहले बताए । बरामद भन्सार छलीका सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले बताएका छन् ।




