रौतहट । रौतहटको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले करार शिक्षकको नवीकरण तथा नियुक्तिमा अनियमितता गरेको आरोप लगाएका छन् ।
आव २०८०/८१ को लागि करार शिक्षक नवीकरण शिक्षा समितिको बैठकबाट गर्नुपर्नेमा निर्णय नै नगराइ आर्थिक प्रलोभनमा परी निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले नवीकरण गरेको वडा नं. ९ का अध्यक्ष तथा शिक्षा समितिका सदस्य श्यामकिशोर साहले आरोप लगाएका छन् ।
निमित्त प्रप्रअ साहले ३९ जना करार शिक्षकको नवीकरण र तीन जना करार शिक्षकलाई नियुक्त गरी आर्थिक अनियमितता गरेको वडाध्यक्ष साहको आरोप छ ।
मावि लक्ष्मीनियामा मुकेश पटेल, साआवि चिरचिरियामा जयप्रकाश शर्मा र मावि गम्हरियामा आमोदप्रसाद यादवलाई करार शिक्षकमा नियुक्ति दिएर निप्रप्रअ साहले अनियमितता गरेको वडाध्यक्ष साहले बताए ।
यस सम्बन्धमा मौलापुर नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले कार्यपालिकाको निर्णयबाट करार शिक्षकको नवीकरण तथा नयाँ करार शिक्षक नियुक्त गरेको बताए । उनले वडाध्यक्ष साहले लगाएको आरोपमा कुनै सत्यता नभएकोे बताए ।




