काठमाडौं । बुधबार साझँ ईपीएस कोरियन भाषाको नतिजा प्रकाशित भयो । ईपीएस एचआरडी कोरिया शाखाले २०८० को फागुन ७ गतेदेखि चैत २४ गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएको मध्येमा ६ हजार ३२१ जना पास भएका छन् । अब पहिलो चरणको परीक्षा उत्तीर्ण गरेकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्नेछ ।
त्यसैगरी, नयाँ परीक्षार्थीहरूको दोस्रो चरणमा २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म परीक्षा गरिने भएको छ । उक्त परीक्षामा ७९ हजार ९३७ जना सहभागी हुने बताइएको छ ।
साथै तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म चल्नेछ । सो परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् । ईपीएस मार्फत कोरियामा उत्पादनमूलक क्षेत्रमा काम गर्नका लागि १ लाख ६३ हजार ६३५ जना नेपालीले आवेदन फारम भरेका छन् ।
ईपीएस कोरिया शाखाका अनुसार स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । परीक्षामा सहभागी हुन परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा ल्यानुपर्ने उल्लेख गरेको छ ।




