धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ ।
सूर्यको तापले पानी खोजिरहेका मानव लगायत विरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’ पर्व मनाइन लागिएको हो । यो पर्वमा परिवारको श्रेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ ।
‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाइने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ ।
जुडशितल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमूली एका विहानै आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । जेष्ठजनहरुले घर घरमा पुगेर आफुभन्दा कान्छो सदस्यलाई शिरमा जल सिञ्चित गर्ने गरिन्छ ।




