रौतहट । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलबार अपरान्ह भएको आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट लाखौंको क्षती भएको जनाइएको छ ।
विद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागीबाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट घरमा रहेको अन्नपात, लत्ता कपडा, भाडा वर्तन, नगदसहित घरहरु जलेर पुर्ण रुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादवको कमाण्डमा खटिएको ९ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली, गौर नगरपालिकाबाट गएको दमकल र स्थानियबासीहरुको सहयोगमा करिव ५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




