सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका ६ मिर्जापुरमा आगलागी निभाउने क्रममा दुई जना जलेर घाइते भएका छन् । मंगलबार राति मिर्जापुरका रामचन्द्र महतोको घरमा लागेको आगो निभाउने क्रममा घरधनी ४३ वर्षीय महतो र सोही ठाउँका २३ वर्षीय राज मङ्गल घाइते भएका हुन् ।
घरधनी महतोको दुवै हतकेला र दुवै खुट्टा र राज मङ्गलको दाहिने हात र पिठ्यूँ पोलेर सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भइसकेका छन् । विजुलीको तार सर्ट भएर भएको आगलागीबाट रामचन्द्र महतोको घर भने पूर्ण रुपमा जलेको छ ।
मंगलबार राति साँढे ८ बजेतिर भएको आगलागीबाट महतोको घरसहित घरभित्र रहेको सम्पूर्ण सर समान र छोरीको विवाहका लागि किनेको कपडा तथा सामग्री समेत जलेर खरानी भएको स्थानीयले बताएका छन् । यसैबीच कविलासी नगरपालिका २ पिपरियामा मंगलबार साँझ आगलागीमा परेर ४ जना किसानको परालको कुन्यू जलेर नष्ट भएको छ । बाँस घारीमा कुन्यू लगाएर राखेको पराल जलेर खरानी भएको हो ।
आगलागीबाट पिपरियाका बारिस सेखको ३० हजार, हृदय रायको १५ हजार, बहादुर रायको १५ हजार र बिजिन्दर पासवानको १५ हजार रुपैयाँको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । परालको कुन्यूमा भएको आगलागीको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।






