महोत्तरी । मटिहानी नगरपालिका ६ जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन् ।
मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दा हेर्दै जलेर खरानी भएका हुन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांक अनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएको जानकारी दिए ।
उनका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन् ।
उनका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामग्री जुटाइरहेको छ ।




