वीरगंज । सवारी दुर्घटनामा बिहिबार बिहान एक जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक युवकको घटनास्थलमा मृत्यु भएको हो ।
पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वीरगंज महानगरपालिका २५ मौजे श्रीसिया सडकखण्डमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक युवकको घटनास्थलमा मृत्यु भएको र तीन जनाको उपचार भइरहेको जानकारी दिए ।
उनले ना १८ प ९८१६ र ना ३१ प ३८३५ नम्बरका मोटरसाइकल बिहान पौने ११ बजे एकापसमा ठोक्किँएर दुर्घटना भएको र दुईटै मोटरसाइकलमा सवार चार जना घाइते भएको बताए । उनले घाइतेमध्ये सोही ठाउँ निवासी २५ वर्षीय अर्जुन पटेलको उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको बताए ।
घटनामा सोही ठाउँ निवासी २० वर्षीय आकाश पटेलको टाउकोमा चोट लागेको, १५ वर्षीय सामा पटेलको खुट्टा र टाउकोमा चोट लागेको र अर्का १५ वर्षीय कन्हैया चतुर्वेदीको छातीमा चोट लागेको थियो । तीनै जनालाई नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको प्रनाउ थापाले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




