वीरगन्ज । वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारत बिहार मोतीहारी जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाखभन्दा बढी नेपाली रुपैँया तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरणसहित एक महिला र दुई पुरुष गरी तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको मोतीहारीका एसपी कान्तेश मिश्रले बताएका छन् ।
उनीहरूको साथबाट १८ लाख २३ हजार २ सय नेपाली रुपैया, एकथान घरेलु हतियार नलकटुवा, दुई थान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान बरामद गरेको मिश्रले जानकारी दिए ।
केहि दिन अघि भारतीय बजार ढाकामा दुई पसलमा लुटेको सामान मध्येको सिसी टिभी क्यामरा रहेको प्रहरीले जनाएको छ ।
साथै पक्राउ परेकाहरूले नबील बैंक वीरगंज शाखाको लुटमा संलग्न रहेको र केहिदिन अघि एक जना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकार गरेको एस्पी मिश्रले न्युज कारखानासँग भएको कुराकानीमा बताए ।
पक्राउ परेका तीनै जना जिल्ला अदालत मोतीहारीको आदेशमा मोतीहारी कारागारमा रहेका छन् भने बरामद रकम जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको छ ।
आरोपीहरु पक्राउ परेपछि एक जना वीरगंजका नेपाली सुरक्षा अधिकारीलाई बोलाएर पहिचान गराउनुका साथै बैंकको सिसी टिभी फुटेजबाट समेत पुष्टि गरिएको एस्पी मिश्रले जानकारी दिए ।
नबिल बैंक वीरगंजमा चोरीको घटनापछि अपराधीहरु भारतीय क्षेत्रमा आउन सक्ने अनुमानको आधारमा एस्पी मिश्रले तीन जना डिएस्पीको कमाण्डमा छुट्टा छुट्टै तीन वटा टोली परिचालन गरेको मोतीहारी क्राईम ब्राञ्चका सई मनिष कुमारले बताए ।
टोलीले विशेष सूचनाको आधारमा दरपा थानाक्षेत्र तिनकोनी गाउँको एक घरमा छापा मारी गरेर मन्टु र अर्जुन पक्राउ गरी उनीहरूको साथबाट १७ लाख ८२ हजार २०० रुपैया बरामद गरेको थियो ।
उनीहरूकै बयानको आधारमा भारतीय प्रहरीले ९५ हजार रुपैयाँ र हतियारसहित सवितालाई नियन्त्रणमा लिन सफल भएको सई मनिष कुमारले बताए ।
यसैगरी बैंकको चोरीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले रौतहटको साविक पथरा बुधराम हाल मौलापुर नगरपालिका ८ का सञ्जय जयसवाल, छोटेलाल जयसवाललाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
गत आइतबार राति ५ देखि ६ जना चोरहरुको समूहले बैंकको मूल गेटको ताल्चा फुटाएर एक सय र बिस रुपैयाँ दरको नोट गरी १ करोड ३४ लाख रुपैयाँ चोरी भएको पर्सा प्रहरीले जनाएको छ ।
चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको बैंकको सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा देखिन्छ ।
यस्तै पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।




