काठमाडौं । चर्को गर्मी र पर्याप्त मात्रामा पानी नपर्दा मधेश प्रदेशका जिल्लाहरूमा खानेपानीको ठूलो समस्या उत्पन्न भएको छ । वनजंगलको विनाश तथा नदीहरूबाट जथाभाबी बालुवा गिट्टी उत्खननले पानीको स्रोतहरू मासिँदै गएपछि त्यसको प्रभाव सर्वसाधारणको दैनिकीमा परेको हो ।
यतिबेला मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा चापाकल र बोरिङहरूबाट पानी आउन छोडेको छ भने नदी खोल्सा तथा इनारहरू सुकेका छन् । मधेश प्रदेशका कमला नदीबाहेक जलाद, जमुनी, औरही, रातो, भालु, मरहा, झप्सीसहितका नदीहरू करिब दुई महिनादेखि सुकेका छन् ।
मधेश प्रदेशकै राजधानी जनकपुरधाम उपमहानगरभित्र करिब ३० प्रतिशत चापाकलमा पानी आउन छोडेको छ । चापाकलहरू सुकेपछि सर्वसाधारणलाई खानेपानीको समस्या मात्र होइन, सरसफाइमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ ।
जनकपुरधाममा ४ सय ५० फिटमा जडान भएको चापाकलमा पनि पानी आउन बन्द भएपछि सर्वसाधारणहरू थप समस्यामा परेका छन् । जनकपुरधामको गंगा सागरमा रहेको डिप बोरिङमा विगत एक महिनादेखि पानी आउन बन्द भएको छ ।
जनकपुरधाममा उक्त बोरिङको चिसो र स्वच्छ पानीले आन्तरिक तथा बाह्य पर्यटकहरू समेत तानेको थियो । तर, गर्मीको कारण बोरिङ सुकेपछि गंगा सागर वरिपरिका व्यापारी तथा पर्यटकहरूलाई पानी खान सास्ती भएको स्थानिय बताउँछन् ।
प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाका उत्तरी भेगमा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको छ । खास गरी पूर्वपश्चिम राजमार्ग क्षेत्रमा भएका इनार तथा चापाकलहरूमा पानी आउन बन्द भएपछि पानीको ठूलो संकट उत्पन्न भएको हो ।
धनुषाकै मिथिला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका सहितमा चापाकलबाट पानी आउन झण्डै दुई महिनादेखि बन्द भएको छ । महोत्तरीका गौशाला, बर्दिबास, खयरमाया, बाहुनमारा, टुटेश्वर, हाथिलेटसहितका क्षेत्रमा पनि पानीको हाहाकार भएको छ ।
त्यसैगरी, बारामा पनि खानेपानीको हाहाकार देखिएको छ । कलैया उपमहानगरपालिकाको भोड्हा, मटिअरिया, मदिलवा टोलमा पानीको सतह कम भएपछि त्यहाँका अधिकांश चापाकल सुकेका छन् । केहि चापाकलमा पानी आएपनि पहिलाको अनुपातमा चार भागको एक भाग मात्र पानी आउने गरेको स्थानीय बताउँछन् ।




