बझाङ । बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बझाङको दुर्गाथली गाउँपालिका १ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका ६ का ३७ वर्षीय लोकश बुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा घाइते भएका छन् । मोटरसाइकल चालकको दाँहिने खुट्टा भाँचिएको छ भने इन्द्राको दाँहिने खुट्टामा चोट लागेको छ ।
दुबै जना घाइतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ । जिप चालक दुर्गाथली गाउँपालिका १ का २३ वर्षीय सुरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।




