बारा । विशेष अदालतले जीतपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई दोषी ठहर गरेको छ । वैशाख २७ गते बिहिबार विशेष अदालतको दैनिक पेसी सूचीमा वडा अध्यक्ष कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको जनाएको छ ।
२०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले दोषी ठहर गर्दा वडाअध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवादी बनाई पुनरावेदनको लागि फागुन ३ गते विशेष अदालतमा मुद्दा दर्ता गराएका थिए ।
इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिंह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो । पुस २ गते हेटौँडा स्थित अख्तियारको टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो ।
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले ५ लाख नगद रकम सहित पक्राउ गरेको थियो । कार्की नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य हुन् ।




