सर्लाही । सर्लाही जिल्लामा छिटो नागरिकता बनाउने भनेर पैसा माग्ने एक जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका ३ का सन्तोषकुमार महतोलाई सो कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
महतोले जिप्रका पुग्ने सेवाग्राहीहरूलाई नागरिकता लिनका लागि लाइनमा बस्न नपर्ने गरी छिटो छरितो नागरिकता बनाइदिने प्रलोभन देखाएर उनीहरूसँग अनुचित रकम लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी दीपक श्रेष्ठले महतोलाई हिजो शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ गरेको बताए । निजलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।




