वीरगंज । वैशाख १८ गते राति नबिल बैंक बाइपास शाखाको चोरी प्रकरणमा पर्सा प्रहरीले बैंकको लापरवाही औंल्याएको छ । पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बाइपास शाखामा नबिल बैंकले सुरक्षागार्ड नराखेको र सूचना उपकरण पनि जडान नगरेको कारण चोरी भएको बताए ।
उनले बैंक जस्तो संवेदनशील संस्थाले सुरक्षागार्ड नराख्नु र बैंकमा हुने सम्भावित चोरी सम्बन्धमा सूचना दिने उपकरण जडान नगर्नु बैंकको चरम लापरवाही भएको बताए । उनले महानगरमा भएका अन्य बैंकहरूले यस्तो लापरवाही नगरेको जानकारी दिए ।
नबिल बैंक बाइपास शाखामा वैशाख १८ गते राति एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । सो चोरी सम्बन्धमा पर्सा प्रहरीले रौतहट, मौलापुर नगरपालिका ७ निवासी छोटेलाल साह कलवार, २६ वर्षीय सञ्जय साहलाई पक्राउ गरेको थियो ।
यस्तै यो प्रकरणमा सोही ठाउँ निवासी विश्वम्भर साह मुख्य अभियुक्त रहेको र निजको खोजी भइरहेको प्रउ ढुङ्गेलले बताए । उनले पक्राउ परेकाहरू विरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको बताए ।
नबिल बैंक बाइपास शाखामा भएको चोरी सम्बन्धमा भारतको मोतिहारी पुलिसले १८ लाख २३ हजार नेरुसहित तीन जनालाई पक्राउ गरेको थियो । सविता देवी, मन्टुकुमार र अर्जुनकुमारलाई पक्राउ गरेको मोतिहारी पुलिसले जनाएको थियो ।
उनीहरू तीनै जना भारतीय हुन् । यो घटनामा तीन जना नेपाली र तीन जना भारतीय संलग्न देखिएको छ । भारतमा पक्राउ परेका तीनै जनाविरुद्ध मोतिहारी पुलिसले मुद्दा दर्ता गरिसकेको छ ।




