धनुषा । धनुषामा स्कूल बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विदेह नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष यादव रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार हुलाकी सडकखण्ड अन्तर्गत विदेह नगरपालिका वडा नम्बर ७ जोगियारास्थित तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २-००२-००४ प ३७८२ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको लर्ड गणेश ईंगलिस बोर्डिङ स्कूलको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार स्थानीय सुमित राई घाइते भएका छन् । उनको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको बस प्रहरीको नियन्त्रणमा रहेको छ ।




