काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात रहेको छ ।
उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठ
उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर रहेको उल्लेख छ । जनकपुरमा जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ भने ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै धुनषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको उल्लेख गरिएको छ । पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुरजग्गा रहेको खुलाइएको छ ।
यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ । त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ । यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यसैगरी रघुवीरसँग नगद २ करोड २५ रुपैयाँ नगद मौज्दात रहेको र यो रुपैयाँ काठमाडौं ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाहरूको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ ।
त्यस्तै उनले रघुवीरसँग ४३ तोला सुन रहेको छ भने साढे एक किलो चाँदी रहेको छ । त्यस्तै उनले सात थान औंठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ । यी जवाहरात पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
त्यस्तै पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जको २ करोड ५० लाख रुपैयाँको सेयर रहेको छ । यी सम्पत्ति ऋण, सापटी, पैत्तृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै सवारी साधन नरहेको उल्लेख गरेका छन् भने सगोलमा केही पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।
त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखिएको छ । मन्त्रीहरूको सार्वजनिक विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।
यसबाहेक उनीसँग रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ भने जुन पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ । बैंकमा ३३ लाख मौज्दात र रोल्पामा घरबाहेक पुनसँग अरू केही नरहेको बताइएको छ । उनीसँग सुनचाँदी, हिरा जवाहरात र सेयर समेत नरहेको उल्लेख छ । यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल
मन्त्री डिपी अर्यालको १३ ठाउँमा जग्गा जमिन रहेको छ । उनले १५० तोलाभन्दा बढी सुन रहेको र २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
विवरण अनुसार श्रममन्त्री डिपीपत्नी अम्बिकाको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा ३ करोड मूल्य बराबरको घर घडेरी रहेको छ । उनले यो निजी कमाइबाट आर्जन गरेको उल्लेख गरेका छन् ।
अम्बिका केसीकै नाममा धादिङको गजुरी गाउँपालिका ८ मा ८ आना, धादिङकै गजुरी–१ मा ४ आना, काठमाडौंको नागार्जुन नगरपालिका १ मा ५, सोही वडाको अर्को स्थानमा ३ आना जग्गा रहेको छ ।
काठमाडौंको टोखामा ४ आना ३ दाम १ पैसा, काठमाडौंकै नागार्जुनमा १० आना, लम्जुङको राइनासको वडा नम्बर ६ को पाँच ठाउँमा ६ आना, ३ रोपनी ७ आना १ दाम, ६ रोपनी ३ आना २ दाम, ९ आना २ दाम २ पैसा, १३ आना ३ दाम जग्गा खुलाएका छन् ।
त्यस्तै भक्तपुरको बागेश्वरीमा ८ आना ३ दाम ३ पैसा जग्गा रहेको खुलाएका छन् । उनले १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा भएको खुलाएका छन् । यी गरगहना २०७४ साल साउन १५ अगाडि जोडेको पनि बताएका छन् ।
उनीसँग श्रीमती अम्बिका केसीको नाममा बैंकमा ५० लाख, २० लाख, १५ लाख मौज्दात रहेको छ । त्यस्तै आफ्नै नाममा १३ लाख, ४ लाख र १ करोड १५ लाख रहेको बताएका छन् ।
उनले विभिन्न बैंक तथा वित्तिय संस्थाको गरी ६७ हजार थान सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले टोयोटा प्राडो, टाटा नेस्कन इभी गरी दुईवटा सवारी साधन रहेको खुलाएका छन् ।
त्यस्तै स्वयम्भू स्टार ब्यांकेट, सुमिरे ट्राभल्स एण्ड टुर्स, इजी लिंक रेमिट, इपिए ह्यान्डी क्राफ्ट्स लगायत कम्पनी रहेको र यी सबै निजी कमाइबाट जोडेको पनि खुलाएका छन् ।
सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्मा
मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । शर्माले सम्पत्ति विवरणमा कृष्णध्वज खड्काको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा ६ आना जग्गा र साढे २ तलाको घरसमेत रहेको उल्लेख गरेकी छन् ।
प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ । सुन ६ तोला र २ तोला चाँदी रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उनको भनाइ छ ।
मन्त्री शर्माको नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ । उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण लिएको, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि उल्लेख छ ।
सहरी विकास मन्त्री धनबहादुर बुढा
सार्वजनिक विवरणमा सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा ४ वटा घर उल्लेख छ । करिब पाँच रोपनी क्षेत्रमा उक्त घरहरू रहेको उनले बताएका छन् । यो सम्पत्ति पैतृक भएको बुढाले उल्लेख गरेका छन् । यी घर घडेरी उनको र श्रीमती हिमालीको नाममा रहेको छ ।
त्यस्तै श्रीमतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा सात तले घर रहेको छ । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमै तीन तले दुईवटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो सम्पत्ति व्यापार व्यवसायबाट आर्जन गरेको उनले खुलाएका छन् ।
श्रीमती हिमाली बुढाकै नाममा काठमाडौंको महानगरपालिका वडा नम्बर ६ बौद्धमा ७ आना जग्गा रहेको छ । यो सम्पत्ति पनि उनले पैतृक र व्यापार व्यवसायबाटै आर्जन गरेको उल्लेख गरेका छन् ।
मन्त्री धनबहादुर बुढाको नाममा १५ लाख नगद मौज्दात रहेको र श्रीमती हिमाली बुढाको नाममा ४५ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले यो नगद व्यापार, व्यवसायबाट कमाएको उल्लेख छ । त्यस्तै उनले हाइलक्स र प्राडो गरी दुई वटा गाडी रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।
शिक्षामन्त्री सुमना श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ । उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८-६-३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ। उनले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।
चल सम्पत्तितर्फ ११ तोला सुन रहेको उल्लेख गरेकी छन् । उनले २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गरेकी छन् । त्यस्तै आफ्नी हजुरआमाको मृत्युपछि १ तोला सुन पाएको उनले विवरणमा लेखेकी छन् । १०० तोला चाँदी विवाहमा उपहार पाएको पनि उल्लेख छ । उनीसँग हिराको सेट र हिराको टप पनि छ ।
सुमनाको एनआइसी एसियामा रहेको बैंक खातामा १ करोड १५ लाख रुपैयाँ रहेको जनाएकी छन् । त्यसको स्रोत पारिश्रमिक भएको उल्लेख छ । त्यस्तै एभरेष्ट बैंकमा पनि ३७ लाख रुपैयाँ छ । उनका श्रीमान पावल लुकास स्काविन्सकीले बैंकमा १८९.७ हजार डलर रहेको उल्लेख छ । श्रेष्ठको विभिन्न कम्पनीमा शेयर पनि रहेको विवरणमा उल्लेख गरेकी छन् ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साह
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको विवरणमा १२ बोरको राइफल बन्दुक उल्लेख गरेका हुन् । उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै श्रीमती साबित्री देवी साह सुडीको नाममा पनि पाँच वटा घर र शैलेशकुमार साहको एउटा घर रहेको उल्लेख छ । उनले विभिन्न ठाउँमा जग्गा किनेको र पैतृत जग्गाको विवरण पनि खुलाएका छन् ।
उनकी श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी रहेको छ । विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरूप प्राप्त भएको जनाएको छ । उनका छोरासँग पनि ३५ तोला सुन छ ।
तीन जना बुहारीहरू माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ । मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ ।
रक्षामन्त्री हरि उप्रेती
मन्त्री उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको छ । विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेको छ । यस्तै सुन २५ तोला रहेको छ । यस्तै १६ लाखको गाडी रहेको मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा देखाएका छन् । उनले उनले नगद सम्पत्ति देखाएका छैनन् ।
कानुन न्याय मन्त्री पदम गिरी
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीले भरेको विवरण अनुसार पर्वतको कुस्मामा १ रोपनी २ आना पैतृक जग्गा, २३ तोला सुन पैतृक सम्पत्ति, एभरेस्ट बैंकमा १ लाख रुपैयाँ नगद रहेको जनाएका छन् । यस्तै न्यू एरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, पोखरामा ५० लाखको लगानी देखाएका छन् । यस्तै ४० लाख रुपैयाँ ऋण देखाएका छन् । थप विवरण हेर्नका लागि लिंक खोल्नु होला ।




