बारा । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको हो ।
बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका ६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साह रहेका छन् ।
यी तीनै जनाको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । यसैगरी तीनै जनासँग साइकलमा नेपाली नक्कली नोट लिएर आएका भारत विहार मातिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चारै जनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको छ । चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




