धनुषा । धनुषाको हंसपुर नगरपालिकाका वडाध्यक्षसमेत तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बुधबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
हंसपुर वडा नं. १ का अध्यक्ष कामेश्वर कापरले सार्वजनिक पोखरी ठेक्कवापत आफूले बुझेको रकम नगरपालिकामा नबुझाएको भेटिएको थियो । ठेक्काको दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा सो नगरी नगरपालिकालाई नोक्सानी गरेको भन्दै मुद्दा दायर भएको हो ।
कापरले १ लाख ८५ हजार रुपैयाँ बिगो तिर्नुपर्नेछ भने उक्त रकम उनीबाट असुलउपरसमेत हुनेछ । उनलाई विशेषले ८ महिना कैद समेत तोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ८ पुसमा मुद्दा दर्ता गराएको थियो ।
राजस्व दाखिला गर्नुपर्ने रकम वडाध्यक्षलाई दिएको भन्दै ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीलाई समेत विशेषले सजाय सुनाएको छ । उनीहरु दुवैलाई पनि जनही १ लाख ८५ हजार रुपैयाँ जरिवाना र बिगो असुलउपरको फैसला भएको छ ।
तीनै जना मिली पोखरी ठेक्काको दोस्रो किस्तावापतको रकम बदनियतपूर्वक हिनामिना गरेको विशेषको निष्कर्ष छ । यस मुद्दामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले सफाइ पाएका छन् ।
उनले नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको नगरेको कुरा देखाइ सरकारी कागजात सच्याएको अभियोग लगाइएको थियो ।




