रौतहट । रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ । दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो ।
यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन् ।
पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका १ बस्ने वर्ष ४८ को श्यामनारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिइन् । पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटना बारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् ।
पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ । दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ ।
स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् । तर प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिन्छ ।




