काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आज मुख्यमन्त्रीमा नियुक्त सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका हुन् ।
जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लगत्तै उनले नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाललाई नियुक्त गरेका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी) बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने र ऊर्जा तथा सिँचाइ मन्त्रीमा बेंची लुंगेली नियुक्त भएका छन् ।
यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रीमा नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुम र श्रम तथा यातायात मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह नियुक्त भएका छन् ।
यसैगरी मधेश प्रदेशको मन्त्रिपरिषद्मा एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिएका हुन् ।
जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले अस्ति प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।




