काठमाडौं । विशेष अदालत काठमाडौंले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो । विशेषले तीन वटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको थियो ।
विशेषले बैंकका म्यानेजर चौधरीलाई दश महिना कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । त्यस्तै, ठेकेदारहरू माधवप्रसाद भण्डारी, अर्जुनबहादुर बुढाथोकी र पुन्नबहादुर शाहीलाई पाँच महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।






