वीरगंज । भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१-५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको हो ।
जगरनाथपुर गाउँपालिका १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपालतर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।
बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० वर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको छ । मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटाएको हो ।
शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको हो भने पहिचान खुल्न सकेको छैन । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




