काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाको भनाई छ । तसर्थ, ती भूभागहरूमा आगामी ४ दिन (असार ३ गते देखि २०८१ असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।




