सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ ।
होटल संचालक धर्मा महतोका अनुसार विहान ९:३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थिए । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए ।
मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।
कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलको प्रकृति मुचुलका उठाउने काम भइरहेकोले तत्काल केही बताउन नसकिने जनाएको छ ।




