तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।
रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरेका छन् । स्थानीय टेकबहादुर गुरुङले घटना बारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको छ ।
आँबुखैरेनी गाउँपालिका ५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गरेका छन् । रुसी सेनामा भर्ना भएका तनहुँका ९ जना परिवारको सम्पर्कमा छैनन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका ९ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।






