रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिकाले आगामी आर्थिक वर्षमा धुवाँमुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको छ । परोहा नगरपालिकाको सोमबार भएको आठौँ नगरसभामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम घोषणा भएको थियो ।
उक्त अवसरमा नगरप्रमुख शेख वकिलले नगरपालिका भित्रका सबै घर परिवारलाई नि:शुल्क रूपमा ग्यास सिलिन्डरसहित चुलो वितरण गरी कात्तिक मसान्तमा धुँवामुक्त नगरपालिका घोषणा गरिने प्रतिवद्धता जनाएका छन् ।
असार १० भित्रमा स्थानीय पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने कानुनी प्रावधान अन्तर्गत आयोजना गरिएको नगरसभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
दोस्रो पटक निर्वाचित भएका मेयर वकिलले नगरबासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन् । आगलागीको उच्च जोखिम रहेकोले आगामी आर्थिक वर्षमा बारुण यन्त्र खरिद गर्ने समेत घोषणा गरिएको छ ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिइएको छ । विद्यालयको भौतिक पूर्वाधारको विकास निर्माणको कार्यलाई निरन्तरता समेत दिइएको छ ।
यस्तै संस्थागत विकास, भौतिक पूर्वाधार विकास सामाजिक विकास, सांस्कृतिक, परम्परा, धार्मिक स्थलको संरक्षण, किसानका लागि वैज्ञानिक खेतीको लागि सहयोग, ज्येष्ठ नागरिकका लागि सेवा सुविधा प्रवाहलाई चुस्तदुरुस्त बनाउने कार्यमा जोड दिएको छ ।
नीति तथा कार्यक्रममा बढ्दै गएको जलवायु असरलाई न्यूनीकरण गर्न वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकताका साथ सबैलाई वृक्ष लगाउन प्रत्साहन गर्ने नीति लिइएको छ ।
यस्तै जनताका लागि सहजरूपमा स्वास्थ्य सेवा, स्तरीय शिक्षाको विकासमा जोड दिइएको छ । आधुनिक तथा वैज्ञानिक विकासको मध्यनजर गर्दै विज्ञान प्रविधि अनुसार सबैले जानकारी लिने गरी सूचना प्राविधिको विकास गर्ने जोड दिइएको छ ।
नगरसभामा उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज आलम, निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, नगरसभा सदस्य लगायतको सहभागिता रहेको थियो ।




