काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमतालमा पहिरोले यात्रुवाहक बस राजमार्गबाट खसाल्दा कैयौँ यात्रुहरू त्रिशूली नदीमा बेपत्ता भइरहेको आशङ्का गरिएको अधिकारीहरूले बताएका छन् ।
शुक्रबार बिहान करिब साढे ३ बजे तिर दुई वटा बस त्रिशूली नदीमा खसेर हराइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
पहिरोले धकेलेर नदीमा पुर्याएका दुई वटा बसहरूमध्ये एउटा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको र अर्को काठमाडौंबाट गौरतर्फ जाँदै गरेको रहेको बताइएको छ ।
पर्साको वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा २१ जना र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बसमा ४१ जना यात्रु भएको बुझिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
“त्यो ठाउँमा सडक त्रिशूलीको किनार नजिकै छ । माथिबाट आएको पहिरोले पल्टाएर र बगाएर दुई वटा बसलाई खोलामा पुर्याएको भन्ने प्रारम्भिक जानकारी छ,” शर्माले भने ।
उनका अनुसार नदीमा पुगेका दुई मध्ये एउटा बस पानीमा देखिएको जानकारी सुरक्षा निकायले गराएको छ । “तर बेपत्ता यात्रुहरू भेटिएको जानकारी हालसम्म आएको छैन,” उनले भने ।
प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनामा दुख व्यक्त गर्दै बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । “बेपत्ता यात्रुहरूको खोजी एवम् प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु,” प्रधानमन्त्रीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टमा भनिएको छ ।
प्रधानमन्त्री दाहालले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई समेत अपिल गरेका छन् ।
बेपत्ताको खोजी
बस र यात्रुको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यस्तै शुक्रबार बिहान नै नारायणगढ मुग्लिङ सडकमा माथिबाट खसेको ढुङ्गाले लागेर एक जना बस चालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्रकिलोमा बिहान करिब ३ बजे लेदो सहितको पहिरोसँगै खसेको ढुङ्गाले लागेर बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु २ ख ६५६६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा बस चालक नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्बर ४ निवासी ३६ वर्षीय मेगनाथ बिक गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




