रौतहट । रौतहटमा अरूको खेत हुँदै लगिएको विद्युतीय तार काल साबित भएको छ । आफ्नै खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर सोमबार दिउसो एक जना युवकको मृत्यु भएको हो ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कुती हजराको छोरा वर्ष ४५ को चुनिलाल पासवानको आफ्नै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको खेत हुँदै छिमेकी रामदरेश राय यादवले जडान गरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा युवक घाइते भएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाइते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेत हुँदै मोटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भइरहेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए ।




