काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक मलेसियामा १६२ जना नेपाली कामदार अलपत्र परेका छन् । मलेसियाको केएलसिसी सेन्टर शहरमा उनीहरू एउटा गोदाममा खाना, पानी बेगर बसिरहेका बताइएको छ । चर्पीमा समेत पानी छैन । पानी किनेर शौच गर्नुपर्ने बाध्यता रहेको छ ।
तीन महिनादेखि शर्त अनुसारका काम नपाएर नेपाली कामदारहरू छट्पटाइरहेका छन् । तराई–मधेसका जिल्ला पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सुनसरी, सप्तरी, मोरङ लगायतका जिल्लाका बढी कामदार रहेका छन् ।
काठमाडौंको रेडियन, ब्रोडवे ओभरसिज, जेपी म्यानपावर लगायत कम्पनीबाट १६२ जना गएको पर्सा, छिपहरमाई गापा २ का दुर्योधन महतो केवटले बताए । ह्वाट्सएपमा सम्पर्क गरी उनले ४ लाख खर्च गरी मलेसियाको सुपरमार्केटमा काम गर्न आएको भन्दै म्यापावरले पठाएको तर हाल खाना र पानीविना छट्पटाउनु पर्दा मन नै रोएको बताए ।
गाउँघरबाट ऋण काढेर विदेश आएर परिवार पाल्छु भन्ने सपना अधूरै रहेको उनले बताए । साथै, म्यानपावर र मलेसियाको कम्पनीका कारण आफूहरू घरको न घाटको भएको धनुषाका अर्का कामदार दीपेश यादव बताउँछन् ।
उनीहरूले तत्काल नेपाल सरकारले आफूहरूलाई स्वदेश फिर्ता गराउन पहल गरिदिनुपर्ने अपील गरेका छन् । चाँडै बोलाइएन भने कतिपय कामदार खाना, पानी बेगर बिरामी परेर ज्यान पनि गुमाउनु पर्ने अवस्था सृजना हुँदै गएको उनीहरूले बताए ।




