बारा । जिल्ला प्रहरी कार्यालय, बाराले आव २०८०/८१ को घटना विवरण सार्वजनिक गरेको छ । प्रहरी तथ्याङ्क अनुसार महिला सम्बन्धी उजूरीको संख्या घटेका छन् भने आत्महत्याका घटनामा वृद्धि भएको छ । आव २०८०/८१ मा ६८ महिला, ६४ पुरुष, ७ बालक र २४ बालिकाले आत्महत्या गरेका छन् ।
आव २०७९/८० मा ४६ महिला, ४९ पुरुष, ८ बालक र ३६ बालिकाले आत्महत्या गरेका थिए भने २०७८र७९ मा महिला ४७, पुरुष ४६, बालक ८ र बालिका २० जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, आव २०७८/७९ मा २ हजार २१३ उजूरीमध्ये १ हजार ४५० मिलापत्र भएका छन् भने २०७९/८० मा २ हजार १४४ उजूरीमध्ये १ हजार ६६६ मिलापत्र भएका थिए । आव २०८०/८१ मा १ हजार ९३६ उजूरीमध्ये १ हजार ७५० उजूरी मिलापत्र भएको तथ्याङ्क छ ।
यस्तै आव २०८०/८१ मा २ हजार ५४ किलो गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, आव २०७८/७९ मा २ करोड ४३ लाख ८९ हजार, २०७९/८० मा १२ करोड ६१ लाख र २०८०/८१ मा ५७ करोड ४० लाख ३५ हजार सङ्कलन गरिएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ । यी प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र १ करोड ५४ लाख ५६ हजार २८८ रुपैयाँ जरिवाना सङ्कलन गरिएको छ ।
आव २०८०/८१ मा १ हजार ३२२ मुद्दा दर्ता भएका र १ हजार ३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ । यसै अवधिमा ९२ वटा लागूऔषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेका छन् ।
प्रहरीले सात वटा हतियार र २० राउन्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार अवैध आर्थिक कारोबार (हुन्डी) सम्बन्धी चार वटा मुद्दा दर्ता गरी आठ जनालाई पक्राउ गरी ३८ लाख ९ हजार रुपैयाँ बरामद गरिएको छ ।
सवारी साधन ट्राफिक कारवाही अन्तर्गत ३४ हजार २८५ वटा सवारीलाई कारवाही गरी २ करोड ९७ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको जिप्रका, बाराले जनाएको छ ।




