बझाङ । बझाङमा जंगली विषालु च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । दुर्गाथली गाउँपालिका ५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन् ।
विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए । तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्याएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ ।
उनीहरु दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए । तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएका छन् ।




