सर्लाही । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो ।
रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
मलगंवा नगरपालिका ४ पुख्यौंली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका १ स्थित खेतसँगैको घरमा गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो ।
रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानका अनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उनी बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ ।
रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशंका छ । घटना लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान सुरु गरेको थियो । राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका थिए । उनको दुई छोरा र पाँच छोरी रहेका छन् ।




