रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । किसानहरुले गरुडाका मेयरलाई बाँदरले क्षति गरेको उखु उपहार दिएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शनपछि मेयर कन्थमणि जैसवाललाई क्षतिग्रस्त उँखु उपहार दिएका हुन् ।
बाँदरले बाली नाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु गत असार १५ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । बाँदर नियन्त्रणका लागि यसअघि किसानहरुले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।
प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले बिहिबार मेयर कन्थमणि जैसवाललाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षति गरेको उँखु उपहार स्वरुप राखेका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगायत गाउँका किसानको बाली नालीमा बाँदरले क्षति पुर्याएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन् ।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले पछिल्लो ४ वर्षदेखि गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगायत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताए ।
वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन् ।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुर्याउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै, उँखु लगायतका बाली नाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नाश गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् ।
धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उँखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनको भनाइ छ । राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ ।
वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन् । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप छ ।




