काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरेका हुन् ।
मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो ।
ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतिका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछ । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेव डाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । अहिले ६.५ किलोमिटरदेखि ७०.९७७ किलोमिटर सडक खण्डमा काम भइरहेको छ ।
यस्तै सुरुआती बिन्दुबाट ६.५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन सकेको छैन । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुत मार्ग बन्दैछ ।




