वीरगंज । पर्सागढी नगरपालिका ४ भेडाहा, मुसहरी निवासी एक जना युवतीले पासो लगाएर आत्महत्या गरेकी छन् । स्थानीय दीपक रामकी छोरी १८ वर्षीया सविता कुमारीले घर नजिकको अम्बाको रूखमा पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरूले बिहान सविता रूखमा झुन्डिएको अवस्थामा देखेपछि बडनिहार प्रहरी चौकीलाई खबर गरेका थिए । घर परिवारका मानिसले भने बुधबार राति सविता घरमा नआएको र उनको खोजी भइरहेको बताएका थिए । तर, यस बारेमा प्रहरीलाई भने खबर गरिएको थिएन ।
विहान अम्बाको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सविताले आत्महत्या गरेको हो वा उनको हत्या भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शव शल्य परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको छ । शल्य परीक्षण प्रतिवेदन आएपछि घटना बारेमा थप कुरा बाहिर आउने र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




