सुर्खेत । रुकुम पश्चिममा २३ वर्षीय युवकसँग प्रेम सम्बन्धमा रहेकी ४९ वर्षीया महिलाको हत्या भएको छ । विवाहको प्रस्ताव गरेपछि प्रेमीले नै ती महिलाको हत्या गरेका हुन् । मृत्यु हुनेमा सानोभेरी गाउँपालिका ४ लामचौरकी सुशीला मल्ल रहेकी छिन् ।
नेपाल प्रहरीका अनुसार सुशीलाको उनकै प्रेमी चौरजहारी नगरपालिका ११ माथिल्लो सर्केना बस्ने प्रेम मल्लले हत्या गरेका हुन् । प्रेमले साउन २२ गते दिउँसो १२ बजेतिर सुशीलाकै कोठामा फलामको तावा, सिलौटो लगायतका घरेलु औजारको प्रयोग गरी घाइते बनाएर घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार हत्या आरोपमा मल्ललाई प्रहरीले साउन २५ गते उनकै घरबाट पक्राउ गरेको थियो । आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी घटना बारे जानकारी गराएको हो ।






