सर्लाही । प्रहरीले सर्लाहीको ईश्वरपुरबाट ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका वडा नं. १२, बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्गबाट गाँजासहित त्यसको ओसारपसारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका–८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोपचन र लालबन्दी नगरपालिका–११, का २१ वर्षीय शंखलाल बल रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुले हिजो बुधबार दिउँसो ना ६३ प ६७७ नम्वरको मोटरसाइकलमा पूर्वतर्फ लिएर हिँडिरहेको अवस्थामा गाँजा बरामद भएको हो । गाँजासहित पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।






