सुर्खेत । कोहलपुर–सुर्खेत अन्तर्गत रत्न राजमार्गमा दुई वटा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो फरक फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् । दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुर्खेत प्रहरीका अनुसार लु १ च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत भेरीगंगा नगरपालिका १२ को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
कोहलपुरबाट सुर्खेत आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
यस्तै दिउँसो ३:२० बजे भेरीगंगा नगरपालिका ५ एमाले मोड (बबइको छेउ) मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किँएको थियो ।
उक्त गाडी दुर्घटनामा सवार २१ जना घाइते भएका छन् । एमाले मोडमा भएको दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।






