सर्लाही । सर्लाहीमा विद्युत् प्राधिकरणले प्रसारण लाइनका तार, पोल व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । प्राधिकरणले गाडेको धेरै पोल जीर्ण र छोटो भएकाले विद्युत् प्रवाह हुने तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको हो ।
ग्रामीण बस्तीका बिजुलीका तार भुइँमा लत्रिएर स-साना रुख छुन थालेका छन् । लगातारको वर्षाले माटोमा गाडेको पोलसमेत ढल्ने अवस्थामा पुगेका छन् । यसरी भुइँमा लत्रिएका तारमा काग, परेवा लगायतका पक्षी बस्दा विद्युत् अवरुद्ध हुने र तार शर्ट भएर आगलागीको घटना समेत हुने गरेको स्थानीय बताउँछन् ।
विद्युत् प्राधिकरणको भुइँमा लत्रिएको तार व्यवस्थापन गरिदिन स्थानीय बासिन्दाले पटक पटक आग्रह गर्दा समेत सुनुवाइ नभएको बताएका छन् । मलङ्गवा वितरण केन्द्र, हिपुर वितरण केन्द्र र बरहथवा वितरण केन्द्रबाट प्रसारण हुने विद्युतका तार, पोल बढी जोखिममा रहेका छन् ।
त्यस क्षेत्रका ११ हजार भोल्ट करेन्ट प्रवाह भएका धेरै विद्युतका तारले रुख र सडक छोएको छ ।




