धनुषा । धनुषाको मिथिला नगरपालिका २ मा रहेको जनता माध्यमिक विद्यालयमा मेला लगाउन दुई दिनको बिदा दिइएको छ । प्रधानाध्यापक श्याम यादवका अनुसार कृष्ण जन्माष्टमीको अवसरमा विद्यालय परिसरमा मेला लाग्ने भएकाले विद्यालय बन्द गरिएको हो ।
सोमबार संघीय सरकारले कृष्ण जन्माष्टमीको बिदा दिएको भएपनि मंगलबार भने विद्यालयले आफ्नै स्थानीय बिदा प्रयोग गरेको यादवले बताए । मेला बुधबारसम्म जारी रहनेछ, तर बुधबार भने विद्यार्थीहरूका लागि विद्यालय खुला रहनेछ ।
आयोजक समितिले आइतबार मात्र मेलाका लागि विद्यालय परिसर उपलब्ध गराउन पत्र पठाएपछि नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर बिदा दिने निर्णय गरिएको थियो । विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने र १००० भन्दा बढी विद्यार्थी रहेका छन् ।
मिथिला नगरपालिका २ का वडाध्यक्ष विहारी महतोले विद्यालय परिसरमा मेला लगाउने निर्णयमा असहमति जनाउँदा पनि प्रधानाध्यापकले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन् । हरेक वर्ष अष्टमीको समयमा मेला लाग्ने हुँदा विद्यार्थीहरूको पढाइमा असर पर्ने गरेको छ ।




