रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एक जना नेपालीलाई अबैध हतियारसहित पक्राउ गरेको छ ।
तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको विशेष सूचनाको आधारमा एसएसबीको ७१ औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियारसहित नेपाली नागरिकलाई पिठवा गाउँ छेउ बगैंचामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० वर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।
यादवले कमरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरि आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको कमान्डेन्ट कुमारले जानकारी दिए ।
पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको विभिन्न स्थानबाट लागुऔषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको ठहर रहेको छ । जिल्ला प्रहरी कार्यालय मोतीहारिका प्रमुख एसपी कान्तेश कुमार मिश्रले घटनाको पुष्टी गरेका छन् ।
अनुमण्डल पुलिस पदाधिकारी अशोक कुमार, सहायक कमान्डेन्ट विश्वास केएम, थानाध्यक्ष अभय कुमार सहितको टोलीले पक्राउ गरेको आरोपी सिकिन्दर यादव हाल नियन्त्रणमा रहेको तथा अदालतबाट म्याद थमाई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले पनि सिकिन्दर यादव अबैध हतियारसहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टी गरेका छन् ।




