वीरगञ्ज । पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनीतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाएको छ । प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकर लगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चाडपर्व, धार्मिक र्याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसवाजी गर्ने जस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्को आवाज र आतिसवाजी गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताएका छन् । उनले सो सूचनाको बर्खिलाप हुने काम गरेमा कानुन बमोजिम कारबाही हुने बताए ।




