रौतहट । बकैया खोलाले बगाएर चार दिनदेखि हराइरहेका एक व्यक्तिको शव आज बिहान भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बारा जिल्लाको कोल्बी नगरपालिका २ स्थित बकैया खोलाको किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले शवलाई प्रादेशिक अस्पताल कलैया, बारा पठाएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् । माझी मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जसपालमा निर्माणाधीन द्रुत मार्गमा काम गर्दै आएका थिए ।
भदौ २१ गते बकैया ६ जुनाइस्थित खोलालाई तर्ने क्रममा अचानक आएको बाढीले बगाएपछि उनी बेपत्ता भएका थिए । प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार, इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा गरिएको खोजी अभियानका क्रममा आज बकैया खोलाको किनारमा माझीको शव फेला परेको हो ।




