सुर्खेत । सुर्खेतको प्रदेश अस्पतालमा सुत्केरीको मृत्युको विषयलाई लिएर उनका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । वीरेन्द्रनगर नगरपालिका ६ निवासी १८ वर्षीया शर्मिला सुनारको सुत्केरीपछि चिकित्सकहरूको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तहरू आक्रोशित भएका हुन् ।
आइतबार सुत्केरी व्यथा लागेपछि शर्मिलालाई प्रदेश अस्पताल ल्याइएको थियो । डाक्टरहरूले उनको अवस्था सामान्य रहेको बताए पनि सोमबार बिहान ४ बजे उनको मृत्युको खबर आफन्तहरूलाई दिइएको थियो । मृत्युको खबर दिनुअघि नै अस्पतालले प्रहरीलाई बोलाएको कुरा शर्मिलाका आफन्तहरूले बताएका छन् ।
मृत्युको खबर फैलिएपछि बिहानैदेखि अस्पतालमा संभावित तनाव नियन्त्रण गर्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । शर्मिलाका आफन्तहरूले अप्रेसनमा संलग्न चिकित्सकहरूविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् । अहिले अस्पताल प्रशासन र पीडित परिवारबीच छलफल भइरहेको छ ।
अस्पताल प्रशासनले शर्मिलाले मृत बच्चा जन्माएको जानकारी दिएको छ । प्रशासनका अनुसार, सुत्केरीमा ज्वरो देखिएको र सुत्केरीपछि अत्यधिक रक्तस्राव भएपछि उनलाई आइसियूमा राखिएको थियो । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले शर्मिला बेहोस भएपछि आइसियूमा उपचार भइरहेकै अवस्थामा उनको मृत्यु भएको पुष्टि गरे ।
सुर्खेतका प्रहरी प्रमुख, एसपी रुपेश खड्काले संभावित अप्रिय घटनाबाट जोगिन ४ बजे बिहानैदेखि डिएसपीको नेतृत्वमा १०० भन्दा बढी प्रहरी अस्पताल परिसरमा तैनाथ गरिएको जानकारी दिए ।






