काठमाडौं । सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । पीडितहरूले लामिछानेले गोर्खा मिडियामार्फत सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै कास्की जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
लामिछानेका समर्थकहरूले पनि प्रदर्शन सुरु गरेपछि सहकारीका पीडितहरूले सडकमा उत्रेर विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको गेट नजिक सहकारी पीडितहरूले नाराबाजी गरिरहेका छन् भने शहीद चोकमा रास्वपा नेता-कार्यकर्ताले लामिछानेको पक्षमा प्रदर्शन गरेका छन् ।
पीडितहरूले रवि लामिछानेलाई पक्राउको माग गर्दै विरोध गरिरहेका छन् भने रास्वपाका कार्यकर्ताहरूले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिएका छन् । सहकारीका पीडितहरूले लामिछानेको समर्थकहरूले पीडामा साथ नदिइ पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् ।
यसैबीच, सहकारी अपचलनसम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरी पोखरा ल्याइएको छ । जोशीलाई आज जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराइने छ ।






