रौतहट । अविरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।
आइतबार बिहानैदेखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो । भन्सार एरियामा भने ४/५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल गुल्मभित्र ३/४ फिट पानी जमेको थियो ।
आइतबार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । तर सोमबार बिहानैदेखि आइतबारको तुलनामा पानी केहि कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताए ।
यस्तै सोमबार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वारसम्म २/३ फिट पानी जमेको कारण वारिपारी पैदल आउने जानेलाई ठूलो सास्ती भइरहेको छ । भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केहि राहत भएपनि पैदल यात्रुलाई कठिनाई भइरहेको छ ।
भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।




