महोत्तरी । २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा ३ का युक्ति ढकालको मृत्यु भएपछि घाटमा चिता राखेर जलाउन ठिक बनाउँदा एक्कासी आएको बाढीले शव नै बेपत्ता बनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन् । २०७८ सालमा समेत गाँउ कै एक जना विकको शव बगाउँदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।
भालुजोरा खोला र टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा बगाउने क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटबन्धन लगाएर एउटा घाट घर बनाएका थिए । तर केहिदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त बनायो भने तटबन्धन लगाएका ठाँउहरु बगाएर बगरमा परिणत भए ।
टुटेश्वर मन्दिरबाट ५ सय मिटर माथि रहेको यो घाटलाई बर्दिबास १०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् । त्यसैले बाढीले चितासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।
‘हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछि चितामा राखेको शवलाई नै खोलाले बेपत्ता बनाउँछ भने त्योभन्दा नराम्रो के हुन् सक्ला र ?’ स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने- ‘स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।’
२०८० साल फाल्गुनमा विष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा बनाएका २ वटा घाट घर र तटबन्धन क्षणभरमा नै क्षतिग्रस्त बन्यो । यसरी एक वर्ष पनि नपुग्दै क्षतिग्रस्त बनेपछि पुन निर्माण कसरी गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको छ ।
वडा नं ११ का लक्ष्मी प्रसाद चौलागाँई अब पुनस् स्थानियहरुको नै चन्दाबाट निर्माण सम्भव नभएको बताउँछन् । ‘स्थानियहरुले पहिले जसरी नै उठाएर बनाउन सकिने अवस्था छैन, यसको लागि सरकारले हाम्रो समस्यालाई महसुस गरिदेओस ।’ चौलागाईले भने- ‘नत्र त्रास त्रासमा नै बाच्नुपर्ने अवस्था रहन्छ ।’
वडा नं. १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्परा अनुसार चल्दै आएको दाहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन् । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उनको भनाई छ ।




