राैतहट । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । ३५ वर्षीय चन्दन साहलाई मंगलबार राति करिब ८:३० बजे मोटरसाइकलमा यात्रा गरिरहेका बेला अपरिचित व्यक्तिले खुकुरी प्रहार गरी गम्भीर चोट पुर्याएको हो ।
साह ना ४८ प ४५५७ नम्बरको मोटरसाइकलमा रौतहटको गरुडा नगरपालिका ९ नरकटिया गाउँबाट समनपुरतर्फ जाँदै गर्दा घटनामा परेका थिए । घटनामा संलग्न व्यक्तिको नाम र पहिचान हालसम्म खुल्न सकेको छैन । आक्रमणमा साहको टाउको, टाउकोको पछाडि र बाँया हातमा गहिरो चोट लागेको छ ।
घटनापछि साहलाई स्थानीय सरस्वती अस्पताल गरुडामा तत्काल उपचारको लागि पुर्याइयो, तर घाइतेको अवस्था गम्भीर भएको कारणले उनलाई थप उपचारको लागि बिरगंजस्थित नेपाल मेडिसिटी बायोधा अस्पतालमा रिफर गरिएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा आक्रमणमा प्रयोग गरिएको खुकुरी र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिइरहेको छ र दोषीलाई चाँडै कानूनी दायरामा ल्याइने जानकारी दिएको छ ।
यस हिंसात्मक घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ भने प्रहरीले यसप्रति गम्भीर ध्यान दिएको बताएको छ । घटनाको यथार्थ पत्ता लगाउन अनुसन्धान जारी रहेको र दोषीलाई आवश्यक कानूनी कारबाही गरिने प्रहरीको भनाइ छ ।
रौतहटमा बढ्दो हिंसात्मक गतिविधि र अपराधिक क्रियाकलापले नागरिकमा सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ । प्रहरी प्रशासनले यस्ता घटनालाई रोकथाम गर्न कडा कदम चाल्नुपर्ने स्थानीयको माग छ ।




