गोरखा । गोरखा जिल्लाको च्याङ्लीमा गएराति खुकुरीको आक्रमणबाट २८ वर्षीया रश्मि कुमालको हत्या भएको छ । मध्यरात १२ बजेतिर पालुङ्टार नगरपालिका ७ पुर्ने पिपलस्थित उनको घरमा अपरिचित व्यक्तिले खुकुरी प्रहार गर्दा रश्मी घाइते भइन् ।
घटनासँगै उनलाई डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतालमा सामान्य उपचार गरिएको थियो । राती २ बजे दमौली अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरे ।
प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ र अस्थायी प्रहरी पोस्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका टोलीले घटना बारे जानकारी सङ्कलन गरिरहेका छन् ।
प्रारम्भिक अनुसन्धानमा मोबाइल एसएमएस चेक गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको छ, तर उनी घटनापछि फरार भइसकेको प्रहरीले जनाएको छ ।
रश्मीका श्रीमान विदेशमा रहेका र प्रारम्भिक अनुसन्धानले घटनामा उनका आफन्तको संलग्नता देखाएको छ । प्रहरी अहिले घटनाको यथार्थ पत्ता लगाउन सक्रिय छ ।






