जोमसोम । मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ग १ च ७६९२ नम्बरको कार जोमसोमबाट लेतेतर्फ जाँदै गर्दा बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकलसँग ठोक्किएको थियो ।
मंगलबार साँझ घरपझोङ ३ पुथाङ एअरपोर्ट नजिक कार ठोक्किएको थियो, जसमा ३२ वर्षीय मोटरसाइकल चालक सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार, गोरखा आरु चनौटे ९ निवासी खड्का काठमाडौंबाट अप्पर मुस्ताङ भ्रमणका लागि गइरहेका बेला दुर्घटनामा परेका हुन् ।
गम्भीर घाइते खड्कालाई मुस्ताङ अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ ।






